Thursday, August 13, 2009

पुग्नु टाढा छ

शब्द : नाकिमा
संगीत : सन्तोष दुमी
स्वर : भीमसेना राई, सन्तोष दुमी


घामले आँखा खोलिसक्यो
पाखा-पर्वत चुमिसक्यो
उठ ए मान्छेहरु
पुग्नु टाढा छ ।

पीठो-गुन्द्रुक उमालेर
टार्नु कति छाकहरु
पटुकीले पेट कसेर
काट्नु कति रातहरु
जून घुम्न आऊ भन्छ
सपनीमा जूनवासी
घामले आँखा खोलिसक्यो
घरको संघार टेकिसक्यो
उठ ए युवाहरुपुग्नु टाढा छ ।

कुचीतिर अघि बढाऊ
कुचो लाउने हातहरु
कलमले कहानी फेर
जाँगरीला जमातहरु
अनि पो त पुग्छौं हामी
चन्द्रमाको हाट हेर्न
घामले पाइला चालिसक्यो
नयाँ यात्रा थालिसक्यो
उठ ए यात्रीहरु
पुग्नु टाढा छ ।

झुल्कदैछ सुन्दर बिहानी

शब्द : नाकिमा
संगीत : भीमसेना राई
स्वर : भीमसेना राई, हेम राई, शर्मिला श्रृजु, तारा राई


हजार साँझ अस्ताएर झुल्कदैछ सुन्दर बिहानी
किन बस्छौ रोई रोई जन्मदैछ हाम्रै सपनी

छ रे एउटा बुढो रुख तिम्रो बारीछेऊ
दियो त्यसले धेरै सेप अब ढालीदेऊ
कालो रात झरेपछि पलाउँदैछ रातो किरणी
किन बस्छौ रोई रोई जन्मदैछ हाम्रै सपनी

हान्या होला जरा धेरै खनी-खनी खोज
कोदालो या के चाहिन्छ तिमी आफै रोज
एउटा कथा सकिएर सुरु भयो अर्को कहानी
किन बस्छौ रोई रोई जन्मदैछ हाम्रै सपनी